बाम गठबन्धन तोड्न सरकारको आयु लम्ब्याइएको एमालेको आरोप
2018-01-13
सिद्धबाबामा सुख्खा पहिरोे खस्दा सडक अवरुद्ध, यात्रुहरु थप मारमा
2018-01-13

चिसोले निम्त्याएको रुवाबासी

डीबी विष्ट/उज्यालो । 

बझाङ, पुस २७ – गाना वादीका तीन वर्षीया नाबालक छोरा विराज वादी पुस २२ गते शनिबार राती चिसोले बेहोस भए । गाना वादीले राती २ बजे दुध खुवाउँदा बालकले दुध खाएनन् । सधैँ १ बजे राती बच्चा कराए पछि दुध दिने गर्नुभएकी गानाले राती २ बजे सम्म पनि बालक नरोएपछि आफैँले दुध दिन खोज्नुभएको थियो । काखमा नै सुतेको ३ वर्षीया छोरालाई दुध खुवाउन खोज्दा बालकले मुख खोलेनन् । बालकको शरीर पुरै चिसो भएको थियो । गानाले छोरा मरिसकेको भन्ने सोचेर रुवाबासी गर्न थाल्नुभयो ।

गाना रोएको सुनेपछि छिमेकीहरु गानाको टिनको झुपडी भित्र पसे । के भएको रहेछ भनेर हेर्दा, गानाको तीन वर्षीया नाबालक छोरा बेहोस अवस्थामा थिए । गानाको घर भित्र पसेका  छिमेकीहरु कोही कोहीले बालकको मृत्यु नै भइसकेको भने । तर छिमेकी राधा वादीले बालकलाई राम्रोसँग हेर्नुभयो र काखका लिनुभयो । बालकको मुखबाट अलिअलि सास चलिरहेको थियो । राधाले जति सक्दो छिटो आगो बाल्न लगाउनुभयो । छिमेकी सबै एक ठाँउमा जम्मा भएका कारण आगो बाले । अनि त्यही आगोले बालकलाई सेके (तताए) ।

बालकको हात खुट्टा छट्पटाएपछि बल्ल गानालाई शान्ति मिल्यो । अहिले गानाले आफ्नो शरिरको कपडा बेरेर पनि छोरालाई न्यानो बनाउने प्रयास गरिरहनुभएको छ । तर टिनको टहरामा बस्नु पर्ने बाध्यता रहेका कारण गानालाई समेत कुन दिन कठ्याङ्ग्रीएर मर्छु भन्ने चिन्ताले सताउँछ । तर आफू भन्दा पनि छोरा बचोस् भन्ने गानाको चाहाना छ । 

यो एउटा गानाको मात्र पीडा होइन । प्रायः राति रुवाबासी नचेलेको वादी समुदायमा दिन छैन । सदरमुकाम चैनपुरका वादी समुदायको र थलारा गाउँपालिका खोली बस्ने वादी समुदायको पीडा उस्तै छ । कतिपय टुहुरा बालबालिका छन् । कसैका आमा छैनन् । कसैका बुबा छैनन् । कसैका बुबा आमा दुवै छैनन् । 

थलारा गाउँपालिका खोली बस्ने सुर्मा वादी १२ वर्षकी भइन् । उनका भाइ विजय १० वर्षका छन् । उनीहरुका बुबा आमा दुबै सात वर्ष अगाडी बिते । उनीहरुका बुबाको लामो समय विरामी भएर ज्यान गएको थियो भने आमाले आत्महत्या गर्नुभएको थियो । अहिले उनीहरुका बज्यै पुनिदेवी वादीले उनीहरुको पालन पोषण गरिरहनु भएको छ । उनीहरुको बज्यै पनि बुढी हुन लाग्नुभयो । मागेर नै गुजारा चलाउँदै आएका उनीहरुको परिवारमा अहिले गाउँमा गएर अन्न मागी दिनेसमेत कोही छैनन् । ‘बजै थला पर्नुभयो । कसरी माग्ने भन्ने हामीलाई थाहा छैन ।’ सुर्माले गुनासो पोखिन् । ‘कहिले कसैले छिमेकीले दिए खाना खान्छौँ, नत्र भोकै बस्नु पर्ने स्थिति छ ।

सुर्माका परिवारलाई छिमेकीलेसमेत घृणा तथा अपहेलना गर्ने गरेको सुर्मा बताउँछिन् । यस्तो जाडो समयमा ओड्ने र राम्रो लगाउने कपडा पनि छैन । आँसु झार्दै उनले भनिन्, ‘बजैले गाँउघरमा गएर मागेरै भए पनि कपडा र खाने कुरा ल्याउनु हुन्थ्यो, तर अब हाम्रो अभिभावक नै छैनन् ।’ रात भरी आगो बालेर आगोको सहारामा नै जीवन चलाइ रहेका छाैँ । काम गर्ने इच्छा त छ, उनले भनिन् ‘तिमिहरु सानै छौ के काम गर्न सक्छौ र ? भनेर काम पनि कसैले दिदैनन् । कति दिन त बजारका मान्छेले खाई छोडेको खाने कुरा खाएर बसेका छाैँ ।’ आँसु पुछ्दै उनले भनिन् ‘के गर्नु मर्न सकिन्नँ ।’ यस्तो कथा लेख्ने अनि फोटो खिच्नेहरु धेरै आए तर कसैले अहिलेसम्म केही गरेका छैनन् । सुर्माले भनिन् । 

यस्तै, ब्यथा प्रमिला वादीको पनि छ । उनको बुबा वितेको ५ वर्ष भयो । उनकी एउटी बहिनी र आमा छिन् । उनले भनिन् ‘पुरानो एउटा कम्बल थियो । त्यो पनि बुबा वित्दा फाल्यौँ । अहिले जाडोमा आड्ने केही छैन । चाउचाउ र विष्कुटका कार्टुनहरु ओछ्याएर गुजारा गर्दै आइरहेका छौँ ।’ प्रमिलाकी आमा हरिनाले भन्नुभयो ‘चिसोको समयमा त बजारमा पाइने चाउचाउ विष्कुटका कार्टुन साहुले जलाएर आगो ताप्दा रहेछन् । चाउचाउ विष्कुटका कार्टुनसमेत पाउन छोड्यौँ ।’ अहिले उनीहरु आगोको भरमा रात बिताउँदै आएका छन् ।

थलारा गाँउपालिकाको खोलीमा बस्ने २८ परिवार र चैनपुरमा बस्ने १३ वादी परिवारमध्ये अधिकांशको पीडा उस्तै छ । जनता आवास कार्यक्रम अन्तर्गत यो बस्तीमा घर निर्माण गर्न लागिएको छ । तर पनि काम सुरु भएको महिनाैँ वित्न लाग्दा घर निर्माण हुन सकेको छैन । 

भदौ ३० गते भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि किस्ता ढिला आएका कारण ढिलाई भएको चरीढुङ्गा रसाईली टोल जनता आवास निर्माण समितिका संयोजक सुनिल रसाईलीले जानकारी दिनुभयो । जनता आवास कार्यक्रम अन्तर्गत एक परिवारले बराबर जम्मा २ लाख ३३ हजार ७ सय २० रुपैयाँ पाउनुपर्ने हुन्छ । अहिलेसम्म पहिलो किस्ता ५८ हजार र दोस्रो किस्ता ७१ हजार मात्र निकासा भएको छ । 

भएका घरसमेत भत्काएर पुनर्निर्माण गर्न थालेपछि टिनको टहरा मुनी बस्दा वादी समुदायमा चिसोले बालबालिकालाई समस्या हुन थालेको छ ।  यहाँका वादीहरुलाई चिसोले मरिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । चिसोले बुढाबुढी र बालबालिका बढी कठ्याङ्ग्रीने गरेका छन् भने कतिपय चिसोले विरामी परेका छन् । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.