राष्ट्रियसभा चुनावको लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
2018-01-13
कलिलै उमेरमा विवाह गर्न नहुने भन्दै रेखा थापा पुगिन् लमजुङ
2018-01-13

थारु माघी : ‘कामको समिक्षा गरी वर्ष दिनका लागि नयाँ नीतिनियम बनाउने पर्व’, के छ यसको महत्व ?

सुजाता मिश्र,

नेपालमा बसोबास गर्ने एक प्रमुख जाति थारू जातिको आफ्नै सांस्कृतिक पहिचान रहेको छ। थारू जाति देशका विभिन्न ठाउँमा छरिएर रहेका छन्। त्यसैले ठाउँ अनुसार उनीहरूको संस्कृतिमा केही भिन्नता पाइन्छ। थारुजाती लाई नेपालको आदिवासी भनेर चिनिन्छ| जसअनुसार यस पर्सा जिल्लामा कुल जनसंख्याको आधारमा विश्लेषण गर्दा करिब ४०% को हाराहारीमा थारुहरुको बसोबास छ| पूर्वमा त्रिभुवन राजपथ र उत्तरमा सुर्य हिम्श्रीन्खला (चुरे पर्वत) र पश्चिममा ओरिया खोला भारतको पश्चिमी चम्पारण जिल्ला संग जोडिएको सिमानामा थारुको बसोबास छ| थारुहरुले बोल्ने मुख्य भाषालाई थारु भाषा भनिन्छ|

पहिरनको हिसाबले भन्नुपर्दा थारुहरुले लगाउने भेषभुषामा, लोग्ने मान्छेले लागाउनेमा मर्दानी (धोति) र कमिज, महिलाहरुले लगाउनेमा साडी र आहिलेको बदलिदो परिस्थिति आनुसार हालको समयमा केटाकेटिहरुले लगाउने पोसाकमा प्यान्ट, सर्ट र कुर्ता सुरुवाल हुन्|गरगहनामा महिलाले लगाउने नाथिया, माँगटिका, हसुली, डरकस, पाउजु, चंद्रहार आदि हुन्|

माघमा मानिने माघे पर्व थारुहरुको महत्वपूर्ण पर्व हो| यसदिनलाई नयाँवर्षको रूपमा मनाइन्छ भने अन्य पर्वहरु मनाउनेमा चैत्र महिनामा मनाइने पर्व घाटो (गौर पर्व) , झम्टा त्यस्तै झिझिया, फागु, छठ र तिहार पनि हुन्|

थारुहरुको शाही खानालाई घोङ्गइ भनिन्छ| त्यस्तै गंगटो, माछा र पिठा (ढिक्रि,फुलौरी,खँरिया) पनि प्रमुख खानाहरुका रुपना मानिने गरिन्छ।

नेपालीका लागि माघे संक्रान्ति राष्ट्रिय पर्व हो । तर माघे संक्रान्ति एक दिनमै सीमित छ भने माघी पर्व पुरै महिनाभरी । पूर्वका थारुले यसलाई तिला संक्राइत् भन्ने गर्छन् । चाडपर्वमा मिठो खाने र रमाइलो गर्ने त हुन्छ नै । तर थारु समुदायले सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएका हुँदैनन् । त्यस सँगसँगै त्यसको सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिकपक्षलाई समेत ख्याल गर्छन् ।

माघीपर्व केवल खानपिन र रामरमाइलोमा मात्र सीमित छैन । खेतीपाती कृषि किसानीमा बढी व्यस्त रहने थारु समुदाय चाडपर्वलाई थकान मेटाउने अवसरको रुपमा उपयोग गर्छन् । वर्ष दिनकालागि नयाँ नीतिनियम बनाउने, त्यसको कार्यान्वयनको प्रतिवद्धता गर्ने काम थारुले माघीमा गर्छन् । नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समिक्षा गरी लोकतान्त्रिक प्रक्रियाअनुसार विकास निर्माणको काम अगाडि बढाउँछन् । थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघीलाई विकासे पर्वकोरुपमा पनि हेरिन्छ ।

निकै धुमधामका साथ उल्लासमय वातावरणमा थारु जातिका समुदायले माघी पर्व मनाउँदै आएका छन् । यो माघी पर्वमा थारु समुदायका मानिसले करिब सात दिनसम्म मनाउँदै आएको पाइन्छ । वर्षको एकचोटी मनाउने थारु समुदायको अरु पर्वभन्दा फरक तरिकाले र निकै महत्वका साथ मनाउँदै आएको पाइन्छ । पर्व र नयाँ वर्ष सँगसँगै खुशीयालीको रुपमा मनाउने माघी पर्व पश्चिम नेपालका तराइका जिल्लाहरु कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्ला गरि सात जिल्लाका थारु समुदायले भव्यताका साथ उल्लासमय वातावरणमा मनाउँदै आएको पाइन्छ ।

माघीको पहिलो दिन :

माघीको पहिलो दिन माघ १ गतेका दिन बिहान ४ बजे उठेर नजिकैको खोला तथा बबईमा नुहाइधुवाई गरि घरमा आएर निसराउ ‘कहर्ना’ निकाल्ने चलन छ । निसराउ तीनथरिको हुन्छ । चामल, नुन र मास हुन्छ यी सबैबाट तीन/तीन पटक निकालेर अर्काे टपरीमा राख्ने चलन छ जसलाई थारु भाषामा निसराउ ‘कहर्ना’ भनिन्छ । निसराउ निकालिसकेपछि घरका बाजे, बज्यै, बुबा आमा, काका, काकी, दाइभाउजुहरुबाट आशिर्वाद लिने चलन छ । त्यसैगरी घरमा आशिर्वाद लिइसकेपछि गाउँका सबै इष्टमित्रहरुलाई भेटी ठूलाहरुसँग आशिर्वाद, आदार सानालाई माया सम्मान गर्ने पनि चलन रहेको छ । यसरी सबैसँग भेटघाट तथा ढोग सेवा, आशिर्वाद लिइसकेपछि घरपरिवारका सबै सदस्यहरु एउटै कोठामा बसेर ढिक्री, मासु, तरुलसँगै मिठो मिठो परिकार खाँदै दुःख सुखको कुरा साटासाट गरिन्छ । यसैगरी घरपरिवारमा वर्षभरिको लागि के–के काम गर्ने, कुन कामको जिम्मा कसलाई दिने लगायत घरपरिवारभित्र गरिन्छ भने सबैले खानपिन गरिसकेपछि गाउँका गरधु¥याहरु महटवाको घरमा जुट्ने चलन हुन्छ । त्यही दिन सबै गरधु¥याहरुले महटावा, अघवा तथा चौकीदार चयन गर्छन् ।

माघीको दोस्रो दिन :

माघ २ गते अर्थात् माघीको दोस्रो दिन भनेको थारु महिलाहरुको ‘जन्नीन्हक माघ’ माघी हो । यो दिन पुरुषको भन्दा पनि महिलाहरुले विशेष गरी माघी मनाउने भएकोले पनि थारु महिलाहरुको माघी भनिन्छ । यद्यपि यो दिन पुरुषले पनि मनाउने गर्छन् । माघीको दोस्रो दिनमा पनि पहिलाको दिन नसकेको काम थारु पुरुष तथा गरधु¥याहरु महटावाको घरमा जुटेर वर्षभरिको कार्ययोजना बनाउने गर्दछन् । यसैदिनदेखि थारु महिला तथा पुरुषहरुले सँगै मिलेर धुमधामका साथ मघौटा नाच नाच्ने गर्दछन् ।

माघीको तेस्रो दिन :

माघ ३ गते अर्थात् माघीको तेस्रो दिन पनि थारु समुदायका महिला तथा पुरुषहरुले भव्यताका साथ माघी मनाउने गर्छन् । यो दिन माघको १ र २ गतेका दिन नपुगेको घर–घरमा गएर पहिलाजस्तै भेटघाट तथा माघीको शुभकामना आदान प्रदान गरिन्छ । अर्थात् थारु भाषामा ओरौउनी माघ भनेर यो दिन पनि माघी मनाउने नाचगान गर्ने गर्र्दछन् । तथापि मघौटा नाच भने माघ महिनाको करिब ७ गतेसम्म नाचिन्छ । धेरै महत्वका साथ नाचिने यो मघौटा नाचमा आफ्नो गाउँदेखि छिमेकी गाउँसम्म गएर नाच्ने गरेको पाइन्छ । मघौटा नाच साँझको ३ बजेदेखि राती ११/१२ बजेसम्म घरघरमा गई नाच्ने गरेको पाइन्छ । केटाकेटी, युवायुवती तथा महिला पुरुष, वृद्धवृद्धाहरुको छुट्टाछुट्टै टिम बनाएर थारु समुदायका मानिसले मघौटा नाच नाच्ने गर्दछन् । माघ १ गतेदेखि ७ गतेसम्म त थारु गाउँ मादलको आवाज र मघौटा सख्या गीत जताततै सुनिन्छ ।

थारु समुदायको माघी कुनै चाडपर्व मात्र नभएर उनीहरुको वर्षभरिको कामको समीक्षा गर्ने र आगामी वर्षका लागि वार्षिक कार्ययोजना बनाउने आर्थिक वर्षको शुरुवात हो । थारु समुदायको सामाजिक भावना र एकताले सिंगो नेपालीलाई उत्प्रेरित गर्नेगर्छ । माघीपर्वले भत्केकालाई जोड्ने, विग्रेकालाई सपार्ने, पुराना रिसरागको अन्त्य र नयाँ सम्बन्धको शुरुवात गर्नेगर्छ । विक्रम सम्बत् जस्तै, थारु सम्बत् पनि छ । अहिलेको माघी थारु सम्बत् २६४२ हो भनिन्छ । तर यो बुद्धकालिन समयदेखि मात्र शुरु देखिन्छ । यसकोबारेमा अझै बौद्धिक वहसको खाँचो छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.