नाट्टामा पाण्डे विजयी
2018-01-13
तराई शीतलहर, सरकारी प्रयास अपुग
2018-01-13

माघे संक्रान्तिमा ३६ हल गोरु जुधाईने

रसुवा, पुष २९ – माघे संक्रान्तिको अवसरमा ३६ हल गोरु जुधाईने भएको छ । रसुवा र नुवाकोट जिल्लाको सीमा क्षेत्र बेत्रावतीमा १० हल, नुवाकोटको तारुकामा १८ हल र पञ्चकन्यामा ८ हल गरी ३६ हल गोरु जुधाउन लागिएको हो । 

नेपाल र तिब्बतबिच १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुशीयालीमा मेला सञ्चालन गर्न सुरु गरिए पनि २० वर्षयता नुवाकोटको विभिन्न स्थानमा व्यवस्थित रुपमा मेला सञ्चालन हुँदै आएको छ । 

२०५३ सालदेखि रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा, २०६२ सालदेखि तारुका र २०६९  सालदेखि नुवाकोटको पञ्चकन्यामा विभिन्न संस्था तथा क्लबले व्यवस्थित रुपमा गोरु जुधाई गरिँदै आएको छ । 

तीनवटै स्थानमा मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । तार्केश्वर गाउँपालिका–२ तारुकामा १८ हल गोरु जुधाउनका लागि माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थामा दर्ता भएको संस्थाका अध्यक्ष समरबहादुर आलेमगरले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सवारी साधन पार्किङ, खाना तथा बासको व्यवस्थापन र दर्शक बस्ने ठाउँको निर्माण गरिसकिएको छ । मेलामा सहभागी हुने विजेता गोरु धनीलाई ५ हजार रुपैयाँ र उपविजेतालाई  ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । 

बेत्रावतीमा गोरु जुधाउनका लागि सम्पूर्ण तयारी सकिएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले जानकारी दिनुभयो । यस्तै नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्यामा रहेको नवप्रतिभा युवा समूहले आयोजना गर्न लागेको गोरु जुधाईको लागि नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार बेलुकासम्ममा ८ हल गोरु दर्ता गराएको आयोजक समूहका अध्यक्ष शिवहरी विष्टले बताउनुभयो । 

गोरु जुधाई प्रतियोगितामा प्रथम हुने गोरुको धनीलाई १० हजार रुपैयाँ, दोश्रो हुनेलाई ७ हजार रुपैयाँ र तेश्रो हुनेलाई ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समूहले जनाएको छ । गोरु जुधाई मेलालाई लक्षित गरी माघ १ गते दैनिक ८ घण्टा बन्द हुँदै आएको गल्छी–देवीघाट सडकखण्ड बन्द नहुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले जनाएको छ । रासस

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.