करेन्ट लागेर इलाममा एकजनाको मृत्यु
2018-01-14
सर्वदलीय बैठक कहिले ? प्रदेश प्रमुख र राजधानीको विषय अन्यौलमा
2018-01-14

संयुक्त कार्यदलको बैठक बस्दै, ६०/४० प्रतिशतकै भागबन्डामा जाने तयारी

काठमाडौँ,पुस ३० । राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठन लगायत विषयमा मापदण्ड तयार गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको संयुक्त कार्यदलको बैठक आज बस्दै छ । दुई दलबीच एकीकरण र गठबन्धनका गर्दाका समयमा भएका सहमतिलाई आधार मानेर गृहकार्य गरिरहेको कार्यदलको बैठक बस्न लागेको हो ।

अपरान्ह् बस्ने बैठकमा सरकार गठन र पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी ६०/४० प्रतिशतकै भागबन्डाको विषयमा समेत छलफल हुने जनाइएको छ । राष्ट्रिय सभाको निर्वाचन, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा यसअघिकै जस्तो ६०/४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका हुन् । यसअघि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भागबन्डा गरी उम्मेदवार तय गरेका थिए । प्रतिनिधिसभा चुनावको परिणाम भने ७० र ३० को अनुपातमा आएको थियो । प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना उम्मेदवार तय गर्नुपर्नेछ । ६० / ४० प्रतिशत भागबन्डा गरे एमालेको भागमा ३३ र माओवादीको भागबाट २३ जना उम्मेदवार हुनेछ । प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा यो मापदण्डअनुसार एमालेको भागमा ४/४ र माओवादीको भागमा २/२ जना पर्नेछन् । वाम गठबन्धनको संयुक्त कार्यदलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेद्वार सिफारिस नगर्ने जनाएको छ। कार्यदलले उम्मेदवार छनोटका मापदण्ड र आधार तय गरी नेतृत्वलाई सुझाव दिनेछ।

कार्यदलले उम्मेदवार छनोटका चार आधार यसअघि नै तय गरिसकेको छ । कार्यदलले तयार पारेको मापदण्डका आधारमा सम्वन्धित दलहरुले नै उम्मेद्वार चयन गर्नेछन् । कार्यदलमा एमालेका तर्फबाट सुवास नेम्वाङ्ग, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादीका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.