राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने प्रमको भनाइ
2018-01-14
हेटौँडा सिमेन्टको मूल्य बढ्यो
2018-01-14

स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव, गाउँपालिका स्तरका संस्थामा झनै हाहाकार

  • रामहरि श्रेष्ठ

ओखलढुंगा। ओखलढुंगाका स्वास्थ्य संस्थाहरुमा सरकारले उपलब्ध गराउँदै आएको निशुल्क औषधिको अभाव भएको छ । औषधि अभाव भएपछि उपचार गर्न स्वास्थ्य संस्थामा आएका विरामी रित्तो हात फर्कने गरेका छन् ।

गाउँका सबैजसो स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुँदा उपचार गर्न आउने विरामीहरु स्वास्थ्य परीक्षण गरेर औषधि किन्न भने निजी क्लिनिकतर्फ जानु पर्ने बाध्यता रहदै आएको छ । ओखलढुंगाको रुम्जाटार जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र ५४ स्वास्थ्य चौकीमा सरकारले निशुल्क बाड्ने औषधि अभाव भएको हो । दुई महिना अघिबाटै औषधि अभाव भएको भएपनि अहिले सम्म प्राप्त नभएको अस्पताल स्रोतले जनाएको छ ।

जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भए पनि खरिद नहुँदा समस्या भएको हो । जिल्ला अस्पतालका लागि सरकारले ७२ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने भएपनि अहिले अस्पतालमा ३० देखि ३२ प्रकारका मात्रै औषधि रहेको अस्पतालका मेडिकल अधिकृत रमेश खतिवडाले बताउनुभयो । अस्पतालमा औषधि आएपनि म्याद सकिन लागेका औषधिहरुमा मात्र आउने गरेको उहाँको भनाई छ ।

गाउँपालिका स्तरका स्वास्थ्य संस्थाहरुमा त झनै औषधिको हाहाकार भएको अस्पतालले जनाएको छ । तर जिल्ला अस्पताल रुम्जाटारले भने यस्तै समस्यालाई मध्यनजर गर्दै अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचारका लागि आउने गरेका बिरामीहरुलाई रित्तो हात फर्काउनु भन्दा केहि शुल्क लिएर सशुल्क औषधि बितरण गर्दै आएको मेडिकल अधिकृत खतिवडाले जानकारी दिनुभयो पछिल्लो समय स्थानीय सरकार गठन भएपनि यस्ता समस्याहरु स्थानीय सरकारले हेर्नुपर्ने हुन्छ । तर जनप्रतिनिधिहरुमै भएको अलमलका कारण यो समस्या निम्तिएको अस्पतालले जनाएको छ ।

केहि समय अघि सोंच नेपाल, पारस्परिक जवाफदेहिता परियोजनाले गरेको अध्ययनमा समेत स्थानीय तहमा औषधि खरिदका लागि न्यून बजेट तथा खरिद प्रकृया झन्झटिलो भएका कारणले समेत खरिद प्रकृया अघि बढ्न नसकेको पाइएको छ । स्थानीय तहले खरिदको तयारी गरे पनि तीन महिनादेखि स्थानीय स्वास्थ्य संस्थामा औषधि अभाव भइरहेको छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.