प्रभासले दाेस्रो पटक पनि लत्याए करण जोहरको अफर
2018-05-16
​दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ
2018-05-16

​चम्पादेवीको गाउँसभामा वाम गठबन्धन आउट !

ओखलढुंगा, जेठ २– ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा वाम गठबन्धन पक्षधर सदस्यहरुलार्ई थाहै नदिई गाउँसभा सम्पन्न गरेको भन्दै विशेष बैठकको माग भएको छ ।

गाउँ कार्यपालिकाकाका चार जना सदस्यसहित गाउँसभाका २० जना सदस्यहरुले विशेष गाउँसभा बोलाउन माग गरेका छन् । 

नेपाली कांग्रेसको बहुमत रहेको यस गाउँपालिकाको वैशाख २९ गते भएको गाउँसभाको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु उपस्थित थिएनन् । एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अघिल्लो दिन मात्रै सूचना दिएर अचानक सभा आयोजना गरेकाले सभामा सहभागी हुन नसकेको एमालेका जिल्ला अध्यक्ष नेत्र भट्टराईले बताउनुभयो । 

स्थानीय शासन सञ्चालन ऐन ०७४ को दफा १९ को उपदफा ४ मा सात दिन अगावै सूचना गर्नु पर्ने व्यवस्था भए पनि सूचनासमेत नदिई गाउँसभा सम्पन्न गरेकाले विशेष गाउँसभाको बैठक माग गरिएको कार्यपालिका सदस्य सुरेश थापाले जानकारी दिनुभयो । वाम गठबन्धनमा आवद्ध जनप्रतिनिधिहरु थापासहितका चार जना वडा अध्यक्ष र अन्य गाउँ सभाका सदस्यहरुले संयुक्त रुपमा विशेष बैठक डाक्न माग गरेर लिखित निवेदन दर्ता गरेका छन् । 

ऐनको दफा १९ को उपदफा ३ मा विशेष गाउँसभा बोलाउनेसम्बन्धी व्यवस्था छ । ऐन अनुसार गाउँसभाका एक तिहाई सदस्यहरुले गाउँसभा बोलाउनु पर्ने कारण खोलेर माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था छ । 

गाउँसभाका सदस्यहरुलाई जानकारी नदिई गाउँसभा गरेको विषयमा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले आफूले अध्यक्षको आदेश अनुसार काम गरेको बताउनुभयो । उहाँले दुई दिनअघि भएको बैठकमा सबै सदस्यहरुलाई गाउँसभा हुने जानकारी गराइएको बताउँदै अध्यक्षको निर्णय अनुसार गाउँसभा पुनः बोलाउने वा नबोलाउने टुंगो लाग्ने पनि बताउनुभयो ।  

ऐनमा व्यवस्था भए अनुसार गाउँ सभाको सूचना सदस्यहरुलाई नदिइएको, गाउँपालिकाले गरेका काम कारवाहीबारे सार्वजनिक सुनुवाई नगरेको, सार्वजनिक खरिद ऐन विपरीत खरिद कार्य गरेको र गाउँपालिकाविरुद्ध अख्तियारमा परेका उजुरीका सम्बन्धमा सदस्यहरुलाई जानकारी नगराइएकाले विशेष गाउँसभा बोलाउनु परेको निवेदनमा उल्लेख छ । 

बुधबार कार्यपालिकामा २३७ दर्ता नम्बर रहेका निवेदन प्रमुख प्रशासकीय अधिकृतले दर्ता गरेका छन् । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *